
सैनिक सरकारद्वारा नेत्री सूचिलाई आंशिक माफी
याङ्गुन – हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ ।
भोलि बुधबार पर्ने आषाढ पूजाका अवसरमा आज सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सूचि विरुद्धका पाँच वटा मुद्दालाई मुल्तवीमा राखेर क्षमादान गरिएको हो ।
राज्य प्रशासन परिषद्का अध्यक्षले सूचिलाई माफी दिनुभएको सरकारी खबरमा भनिएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानुनी रूपमा सञ्चार उपकरण ‘वाकिटकी’ राखेको तथा कोरोना भाइरसविरुद्धका नियम पालना नगरेकोलगायत अपराधमा दोषी ठहर गर्दै ३३ वर्षको कारबासको सजाय तोकिएको छ ।
दुई वर्षअघि नेश्नल लिग फर डिमोक्रेसीकी नेत्री सूचिको सरकारलाई अपदस्थ गरेयता म्यान्माका विभिन्न भागमा त्यसको विरोधमा उत्रेकामाथि सैनिक सरकारले व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ ।
सैनिक शासनविरुद्धको आन्दोलनमा करिब छ हजार सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका विवरण सार्वजनिक भएका छन् । म्यान्मारका स्थानीय निकायले तीन हजार आठ सय जनाभन्दा बढीले ज्यान गुमाएका बताएको छ भने सैनिक अधिकारीले त्यो सङ्ख्या पाँच हजारको हाराहारीमा पुगेको जनाएका छन् ।



कागजपत्र |
