आन्दाेलनमा निर्माण व्यवसायी, प्रधानमन्त्री निवास घेराउ


काठमाडौं – सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानीलगायतका विषयलाई लिएर धर्ना तथा प्रदर्शनमा रहेका निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् ।

व्यवसायीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर सोमबार बिहान प्रधानमन्त्री निवास घेराउ गरेका हुन् ।

व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थपलगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालय घेराउ गरेका उनीहरुले आज बालुवाटारमा घेराउ गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए ।

लामो समयदेखि निर्माण व्यवसायीहरुलाई परेको समस्या सरकारले गम्भीर रुपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । अध्यक्ष सिंहले निर्माण आयोजनाहरु समयमै नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको बताए । निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीसमेत नपाएको उनको गुनासो थियो ।

प्रतिक्रिया