गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो


महोत्तरी – महोत्तरीको लोहारपट्टी-४ खुट्टापीपराढीस्थित गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक तीन-तीन वर्षमा हुने अधिकमास (बोलचालीमा मलमास) को पुरुषोत्तम स्नान गर्न यहाँ श्रद्धालुको उपस्थिति बाक्लो रहेको छ । अधिकमास सुरु भएयताको आज चौथो स्नान हो ।

गेरुकाधाममा अधिकमासभित्रका आइतबार र मङ्गलबार पुरुषोत्तम स्नान गर्ने चलन छ । यसअनुसार यही साउन २ गते सुरु भएको अधिकमासमा यसअघि तीन स्नानमेला सम्पन्न भएका छन् । यसपाली आगामी भदौ १ गतेसम्म पर्ने अधिकमासमा चार आइतबार र पाँच मङ्गलबार गरी नौ स्नानमेलाका दिन परेका छन् । आजसमेत चार मेला सम्पन्न भएपछि अब पाँच बाँकी छन् ।

आदिकालदेखिकै धार्मिकस्थल रहेको गेरुकाधाममा प्रत्येक तीन वर्षको फरकमा चन्द्रमासको गणनामा आउने अधिकमासमा धार्मिक मेला लाग्ने चलन छ । अधिकमासमा गेरुकाधामस्थित गेरुका कुण्डमा पसेर स्नान गरेपछि सबै पापबाट छुटकारा पाई मोक्ष प्राप्ति हुने मैथिल हिन्दू जनविश्वास रहँदै आएको छ । पुरुषोत्तम स्नान आइतबार र मङ्गलबारको दिनको पहिलो प्रहरभित्र गर्ने चलन छ ।

अधिकमासलाई धर्मशास्त्रहरु (अधिकमास पुरुषोत्तम माहात्म्य) मा भगवान् विष्णुसँग जोडेर पुरुषोत्तम मास भनिएको छ । यस मासमा धार्मिक स्नान गरेर पुरुषोत्तम पुराण श्रवण (सुन्दा) गरे मनवाञ्छित फल पाइने पुरुषोत्तम पुराणमा उल्लेख रहेको वैदिक धर्मपरम्पराका ज्ञाता जलेश्वर नगरपालिका-८ बजराहीका मनोहरनाथ पाठक बताउँछन् । यस पटक साउन कृष्णपक्ष अन्त्य भई शुक्लपक्ष सुरु हुने दिन यही साउन २ गते अधिकमास लागेको हो । एक महिना भोग रहने यस मासमा अधिक साउन शुक्ल र अधिक साउन कृष्णपक्ष रहने छन् ।

अधिकमासको एक महिने अवधि पुरा हुनासाथ चन्द्रमास गणनाको साउन शुक्लपक्ष सुरु हुने नेपाली र मैथिली प्रचलनका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ । यसअघि २०७७ असोजमा अधिकमास परेको थियो । गेरुकाधामस्थित पवित्र कुण्डमा अधिकमासभित्रको आइतबार र मङ्गलबार पुरुषोत्तम स्नानको परम्परा छ । पुरुषोत्तम स्नानले आत्मशुद्धिमा जान अञ्जानमा भएका त्रुटिको पापबाट मुक्त भइने र मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । खासगरी यो स्नान देह र आत्मशुद्धिका लागि गरिने परम्परा रहेको मिथिला माहात्म्यका मर्मज्ञ तथा यस माहात्म्यका नेपाली अनुवादक ध्रुव राय बताउँछन्ेड ।

यो धार्मिक परम्पराले अधिकमासभित्रका आइतबार र मङ्गलबार गेरुकाधाममा धार्मिक मेला आयोजन हुँदै आएको छ । यी मेला अवधिमा धार्मिक यात्रीलाई बासस्थान, खानेपानी, प्राथमिक उपचार, सुरक्षा र स्वेच्छिक भोजनको व्यवस्था गरिँदै आइएको लोहारपट्टीका नगर प्रमुख शैलेन्द्र यादवको भनाइ छ । जनकपुरधामसँगै जोडिएको गेरुकाधाम तीर्थमा स्नानका लागि मधेस प्रदेशका अतिरिक्त भारतको विभिन्न जिल्लाका तीर्थयात्री आउने गरेका छन् । सोनमा गाउँपालिकाको खैरवनीस्थित कुण्डमा पनि पुरुषोत्तम स्नान मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया