

निर्वाचन आयोगले सांसदको मानमर्दन गरेको भन्दै रास्वपा सांसद पुगे उच्च अदालत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उमेदवारलाई १५ हजार जरिबाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
रास्वपा सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिट दायर गरेका हुन् । आयोगले सांसदको मानमर्दन गरेको भन्दै उनीहरुले रिट दायर गरेको उच्च अदालत पाटनका स्रेस्तेदार ठगिन्द्र कट्टेलले बताए ।
रिट निवेदनमा आयोगको निर्णयले सम्मानपूर्वक बाँच्न पाउने हकमाथि नै धावा बोलेको दाबी गरिएको छ । आयोगको निर्णय गैरकानुन र स्वेच्छाचारी भएको उनीहरू दाबी छ । उनीहरूले प्रतिनिधिसभा सदस्यहरूको ‘मानमर्दन हुने’ आयोगको निर्णय बदर गर्न माग गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले दुईहजार ४०० बढी उम्मेदवारलाई जरिबाना गर्ने निर्णय गरेको थियो ।

