

गगन थापाले बुझाए निर्वाचन आयोगलाई जरिवाना

काठमाडौं – कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको जरिवाना रकम बुझाएका छन् । महामन्त्री थापाले गत आम निर्वाचनमा निर्वाचन प्रचारप्रसार लगायतको खर्च विवरण नबुझाएको भन्दै आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका हुन् ।
थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् । थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।
‘मैले निर्वाचन आयोगमा मिति २०७९।०८।२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
थापाले आफ्नो निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा भएको पनि जानकारी गराएका छन् । निर्वाचन आयोगले गत मंसिरको चुनावको खर्च विवरण सार्वजनिक गरेपछि त्यसको जानकारी नगराउने १ हजार भन्दा बढी प्रतिनिधिसभाका उम्मेदवारलाई जरिवानाको निर्णय गरेको थियो ।

