सुनकोशीले जोगाउँदैछ ५५ हजारको जीवन


काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब केही महिना मात्रै बाँकी छ ।वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः नयाँ वर्षका अवसरमा घरघरमै खानेपानी पाउनेछन् ।

तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि अर्थात् भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् ।

‘आउँदो नयाँ वर्षमा खानेपानी अयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, यसपछि तेमालको एउटा ठूलो सपना साकार हुनेछ’, तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजीत लामाले भने । उनका अनुसार गत मङ्सिरमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम कोरोना सङ्क्रमणका कारण छ महिना रोकिँदा अब छ महिना सरेको हो ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । लामाले भने, ‘लकडाउनपछि छ महिना काम रोकियो, अहिले द्रुत गतिमा काम भइरहेको छ, सकेसम्म थपिएको समयमा सक्ने योजनामा छौँ ।’ तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको हो ।

तेमाल बृहत् खानेपानी आयोजना स्थानीयवासीको सुखद जीवनसँग जोडिएको आधाबाटका इन्द्रबहादुर तामाङले बताए। उनले भने, ‘सुनकोशीको पानी भनेको तेमालवासीको जिन्दगानी नै हो ।’ उनका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो ।

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९०, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदान गर्नुपर्ने सम्झौता भएको थियो ।

आयोजनाको नदीमा फिल्टर गर्ने चारवटा ट्याङ्की र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुईवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटामध्ये १६ वितरण ट्याङ्की भइसकेका छन् । ‘पाइपलाइनको काम सकिएको छ भने घरघरमा धारा जोड्न बाँकी रहेको छ’, लामाले बताए । सुनकोशी नदीबाट प्रतिसेकेन्ड २० लिटर पानी मुख्य रिजर्भ ट्याङ्कीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिनेछ । आयोजनाको लिफ्टिङ लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् ।

प्रतिक्रिया