

मकवानपुरका ११ घरपरिवारलाई लालपुर्जा वितरण

हेटौंडा – मकवानपुरका ११ घरपरिवारलाई जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
जिल्लाको बकैया-५ का ११ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
आज बकैया-५ को राजदमार स्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।
पूर्जा प्राप्त गर्नेहरूमा बकैया-५ का शुक्रबहादुर बुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार विक, शुसिला विश्वकर्मा, बाबुलाल थिङ, कमलबहादुर थिङ, हस्तबहादुर थिङ र लक्ष्मण थिङ रहेका छन् । उनीहरूले ३४० वर्ग मिटर क्षेत्रफलको जग्गा पूर्जा प्राप्त गरेका हुन् ।
यसैगरी, कान्छीमाया पुलामीले ३३८.२७२ वर्गमिटर र विनोद वाईवाले १५०.५२ वर्गमिटर क्षेत्रफलको जग्गा प्राप्त गरेको राष्ट्रिय भूमि आयोग मकवानपुरको जनाएको छ ।
आयोगको गत असार १३ गतेको निर्णय अनुसार उनीहरूले आज पुर्जा प्राप्त गरेका हुन् ।
वडामा लगत संकलन भएका ६४ घरपरिवार मध्ये ११ घरपरिवारले मात्रै पुर्जा प्राप्त गरेको र बाँकीको प्रक्रियामा रहेको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेल, प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

