

म्याग्दी नदीको पानी बेनीमा वितरण गरिँदै

म्याग्दी – म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ। खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिराका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपूर्तिका लागि म्याग्दी नदीबाट ‘लिफ्टिङ’ गर्न थालिएको जानकारी दिए।
‘लिफ्ट खानेपानी योजनाको परीक्षण सफल भएको छ,’ उनले भने, ‘म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणका लागि लोडसेडिङ गर्नुपर्ने समस्या हटेको छ।’
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौंको एएम प्याराडाइजसँग रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो।
म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत्, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताए।
‘आठार महिनाको ठेक्का अवधि हो। पानी शुद्धीकरण गर्ने पलान्ट निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले छ महिना म्याद थपिएको छ,’ उनले भने, ‘अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौं।’
बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट्यांकीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालेको जनाएको छ। बेनी-नगरपालिका-२ हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनारभित्र तीन वटा विद्युत्को सहायताले चल्ने पानी तान्ने समसिवल पम्प राखिएको छ।

