

महिला विश्वकप फुटवल : आयरल्याण्डविरुद्ध आयोजक अस्ट्रेलिया विजयी

काठमाडौं – उद्घाटन खेलमा आयरल्याण्डलाई हराउँदै सह–आयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकप फुटवलमा विजयी सुरुआत गरेको छ ।
बिहीबार अस्ट्रेलियाको सिड्नीस्थित सिड्नी ओलम्पिक रंगशलामा सम्पन्न खेलमा स्टेफानी क्याट्लेले गरेको गोल निर्णायक बन्दा घरेलु टिमले आयरल्याण्डविरुद्ध १-० को साँधुरो जित निकालेको हो । क्याट्लेले खेलको ५२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अस्ट्रेलियालाई अग्रतामा राखेकी थिइन् ।
जितसँगै तीन अंक जोडेको अस्ट्रेलिया समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको आयरल्याण्ड तालिकाको पुछारमा झरेको छ । यो समूहमा अस्ट्रेलिया र आयरल्याण्डसँगै क्यानडा र नाइजेरिया छन् ।
प्रतियोगितामा आजै भएको पहिलो खेलमा सह–आयोजक रहेको अर्को टिम न्युजिल्याण्डले पनि नर्वेलाई १-० ले नै हराएको थियो । अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी आठ समूहमा विभाजन गरिएको छ ।

