अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धी कार्यान्वयन अनुगमन प्रतिवेदन सार्वजनिक


काठमाडौं – राष्ट्रिय अपांग महासंघले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी २००६ को कार्यान्वयन अनुगमन (संघीय तह) को संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ । राजधानीमा बुधबार आयोजित एक विशेष कार्यक्रमबीच महासंघले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

महासंघका अध्यक्ष देवीदत्त आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको अधिकारका बारेमा हालसम्म सरकारी तहबाट भए गरेका क्रियाकलापका साथै कमी कमजोरीका बारेमा औंल्याइँदै भविष्यमा गर्नुपर्ने कामका बारेमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा प्रतिवेदनको नजिता बारेमा अधिकारकर्मी एवं सहजकर्ता मनिष प्रसाईले प्रस्तुतीकरण गरेका थिए । उनले यस महासन्धीपछि भए गरेका काम कारबाहीका बारेमा नीतिगत जानकारी गराउनुका साथै प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षले जोड दिनुपर्ने बताए ।

डा. विरेन्द्रराज पोखरेललगायतका व्यक्तित्वहरूको तस्बिर ।

साथै उक्त अवसरमा अपांगता अधिकारकर्मी डा. वीरेन्द्रराज पोखरेलले नेपालका समावेशी राष्ट्रिय आयोग, मानवअधिकार आयोग र तालुकदार मन्त्रालय विशेष जिम्मेवार बन्नुपर्ने बताए । उनले नेपालले हरेक वर्ष आयोजना हुने State Party Confrence मा बलियो र दरिलो सहभागिताका जोड दिएका थिए ।

समावेशी आयोगका सदस्य हरिदत्त जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अपांग अधिकारकर्मी भोजराज श्रेष्ठले पनि अपांगता भएका व्यक्तिहरुको अधिकार रक्षाका लागि सबै पक्षले काम गर्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरूको तस्बिर ।

कार्यक्रममा अधिकारकर्मी रेणु लोहनीले पनि अपांगता भएका व्यक्तिहरुको हितका लागि राज्यका साथै गैरसरकारी संस्थाका साथै जनस्तरबाट निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारेकी थिइन् ।

साथै कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, महिला तथा बालबालिका मन्त्रालयकी प्रतिभा राई, नेपाल मानवअधिकार आयोगकी कल्पना नेपाल, राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेतीलगायतले बोलेका थिए ।

प्रतिक्रिया