


समूह विजेता बन्न आज भारत र पाकिस्तानबीच भिडन्त

काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ । पाकिस्तान र भारतबीचको खेल नेपाली समयअनुसार, दिउँसो २:१५ बजे (दिवा-रात्रि) सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेका यी दुवै राष्ट्र यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । सोही समूहमा रहेका नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
भारत र पाकिस्तान समूह विजेता बन्ने होडमा छन् । यी दुवै टोलीको चार—चार अङ्क छ ।
समूहगत चरणको अन्तिम खेलमा विजयी हुने टोली समूह विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ । त्यसै पनि विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई विशेष रूपमा लिने गरिएको छ ।

