कोरोनाविरुद्धको खोप खरिद गर्ने बाटो खुल्यो
काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसबारे नीतिगत निर्णय गरेको हो ।
भारतमा बनेको कोभिसिल्ड खोप २० लाख डोज खरिदका लागि सरकारले बाटो खोलेको हो । मन्त्रिपरिषद बैठकले कोभिसिल्ड खोप खरिदका लागि अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।
भारतको सिरम इन्स्टिच्यूटसँग प्रतिडोज खोप ४ डलरमा खरिद गर्ने सहमति यसअघि नै भएको थियो । यद्यपि, भुक्तानीको विषयमा नीतिगत निर्णय नहुँदा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार मन्त्रिपरिषदको निर्णयसँगै अब खोप खरिद प्रक्रिया अघि बढाइने छ ।