


महामन्त्री गगन थापाको एजेन्डामा मेरो कुनै विमति छैनः डा. शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महामन्त्री गगन थापा र आफू एकै ठाउँमा रहेको बताएका छन् । उनले आफू र गगन थापाको फरक फरक समूह छ भन्ने भ्रमबाट मुक्त हुन सबैलाई आग्रह समेत गरेका छन् ।
डा. कोइरालाले गगन थापामा युवा जोश जाँगर भएको जनाउँदै आक्रामक रुपमा प्रस्तुत भए पनि एजेन्डामा भने एउटै भएको जनाए । उनले भने, ‘एजेन्डा फरक भयो भने समस्या आउने हो, तर गगनजी र मेरो एजेन्डा एउटै छ, एउटै भयो भने फरक पर्दैन ।’ उनले प्रमुख कुरा मुद्दा रहेकोले गगन र आफ्नो मुद्दा एउटा रहेकोमा थप जोड दिए । उनले आफू जहिले पनि बलियो कांग्रेसको पक्षमा रहेकोले आफूहरुको एजेन्डा एउटै रहेको बताए ।
उनले गगन र आफूबीचमा केही मानिसहरुले अफवाह फैलाउन खोजेको जनाउँदै गगनको एजेन्डामा आफ्नो विमति नरहेको बताए ।
नेता कोइरालाले केही नेताहरुले आफूलाई सभापति देउवासँग मिल्यो भनेर सञ्चारमाध्यमहरुमा केही पार्टीभित्र र केही आफ्नै समूहका साथीहरुले पनि आरोप लगाइरहेको पाएको छु । आफूले पहिला सामाजिक सञ्जालको कमेन्ट हेर्ने नगरेको तर पछिल्ला समयमा हेर्ने गरेको समेत डा. कोइरालाले बताए । उनले त्यस्तो भन्नेहरुले शेखर कोइरालालाई नचिनेको बताउँदै भने, ‘आफू यो दिनुहोस्, ऊ दिनु भन्दै लोलोपोतो गर्ने खालको मान्छे होइन ।’ आफूले बरिष्ठ नेता नमागेको बताउँदै सभापतिले दिएको खण्डमा मात्रै बन्ने उनले बताए । तर, मैले जर्बजस्ती माग्ने कुरा हुँदैन, दिए पनि ठिकै र नदिए पनि ठिकै रहेको बताए ।
डा. कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिको दाबेदार रहेको बताउँदै वर्तमान सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा नउठ्ने बताइसकेकोले देउवाले कसलाई समर्थन गर्नुहुन्छ भन्ने कुरा अहिले नै थाहा नभएको स्पष्ट पारे ।
उनले जसरी पनि आफू सभापतिको उम्मेदवार रहने बताउँदै १४ औं महाधिवेशनको ४० प्रतिशत मतलाई ६० प्रतिशत पुर्याउने समेत दाबी गरे । उनले निर्धारित समयमै महाधिवेशन गराउनका लागि महामन्त्री गगन थापासँग कुराकानी भइरहेको समेत जनाए ।

