नहरमा बस खस्दा ४२ जना भन्दा बढीकाे ज्यान गयाे


भारत – मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस नहरमा खस्दा ४२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बिहान साढे सात बजेतिर सिधीबाट सतना गइरहेको बस २२ फिट गहिरो नहरमा खसेको हो । दुर्घटनाको समय बसमा ५० भन्दा धेरै जना रहेको बताइएको छ ।

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ४२ जनाको शव नहरबाट बाहिर निकालिएको छ । अन्यको खोजी भइरहेको छ । यसका साथै सात जनालाई बचाइएको बीबीसीमा उल्लेख छ ।

त्यहाँको प्रशासनले नहरमा डुबेको बसलाई क्रेनको मदतमा बाहिर निकालेको छ । उद्धार अभियानमा प्रशासनले गोताखोरको सहयोग लिएको छ ।

प्रशासनका अनुसार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्छ । प्रशासनले नहरमा बगेका भनिएकाहरूको खोजीमा जुटेको जनाएको छ । बसका ड्राइभरले भनेर पौडेर ज्यान बचाएको बताइएको छ ।

यस घटनाको कारणबारे थाहा भइसकेको छैन । बसमा क्षमताभन्दा धेरै जना सवार भएको हुन सक्ने मानिएको छ । ३२ सिट क्षमताको बसमा झण्डै ५५ जना रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडक जामका कारण बस अर्कै बाटो भएर गएको र सडक अप्ठ्यारो भएका कारण गाडी ड्राइभरको नियन्त्रणबाहिर जाँदा गहिरो नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया