एसीसी मेन्स इमर्जिङः पाकिस्तानविरूद्ध नेपालले पहिले ब्याटिङ गर्दै


काठमाडौं – श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान ए विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्दैछ ।

पाकिस्तानको ए टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।

पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन् । नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रदै छ ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।

जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाल र पाकिस्तान ए रहेका छन् ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

प्रतिक्रिया