डा. तोसिमाको अभिव्यक्तिविरुद्ध आयो ललितपुर माओवादी केन्द्रको आधिकारिक धारणा

कार्कीको अभिव्यक्ति खेदजनक र असंवेदनशीलः माओवादी केन्द्र ललितपुर


ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको अभिव्यक्तिविरुद्ध अन्ततः आधिकारिक धारणा नै आएको छ । प्रधानमन्त्री प्रचण्डकी दिवंगत धर्मपत्नी सीता दाहालको निधनपछि दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै माओवादी केन्द्र, जिल्ला समन्वय समिति ललितपुरले भर्त्सना गर्दै विज्ञप्ति नै प्रकाशित गरेको छ ।

जिल्ला समन्वय समिति संयोजक शिव कट्टेल र इन्चार्ज दिनेश महर्जनले विज्ञप्ति जारी गर्दै सांसद कार्कीको अभिव्यक्ति खेदजनक र असंवेदनशील भएको ठहरसहित घोर भर्त्सना गरेका छन्।

‘सांसद तोसिमा कार्कीद्वारा पशुपति आर्यघाटमा सञ्चारमाध्यमसँगको कुराकानीमा दिएको अभिव्यक्तिप्रति ललितपुर जिल्ला पार्टी कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशील भएको हाम्रो निष्कर्ष छ।’

सीता दाहालको निधनपछि बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। आर्यघाटमा श्रद्धाञ्जलीका लागि पुगेकी सांसद कार्कीले सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिने क्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया