

देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।
बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ ।’
नेता सिंहले असल कामको मुल्याङ्कन जनताले गर्ने उल्लेख गरे । नेपालमा भनसुनका कारण विकास निर्माणका काम हुने गरेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा विकास गर्न जरुरी भएको र भनुसुनको हिसाबमा काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गरे ।
कार्यक्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले चन्द्रागिरि नगरपालिका-१० मा निर्माणाधीन अवस्थामा रहेको विन्धबासिनी माताको मन्दिर निर्माणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखे ।
बागमती प्रदेशका पर्यटनमन्त्री पुकार मर्हजनले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक, पर्यटनलगायत क्षेत्रमा उल्लेख बजेट विनियोजन गर्दैै ती क्षेत्रमा थुप्रै विकासका काम भइरहेको जानकारी दिए । बिन्धबासिनी मन्दिर निर्माणका लागि प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरिने बताए ।

