पुलिसको लगातार तेस्राे जित


काठमाडौं – नेपाल पुलिस क्लबको महिला टोलीले सातौ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० मा लगातार तीन जित निकालेको छ ।

आज सम्पन्न खेलमा पुलिसको महिला टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । पुलिसले एकतर्फी खेलमा आर्मीलाई २५-१८, २५-१२, २५-१८ ले पराजित गरेको हो । यस जितसँगै पुलिसको ९ अंक भएको छ । यसअघि पुलिसले गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५-१२, २५-८, २५-८ को सोझो सेटमा पराजित गर्दै आफ्नो खातामा थप ३ अंक जोडेको छ । एपिएफको लिगमा यो दोस्राे जित हो । यसअघि एपिएफले आर्मीलाई पराजित गरेको थियो । एपिएफको ५ अंक भएको छ । आर्मीसंग एपिएफले अंक बाँडेको थियो ।

यस्तै आजै सम्पन्न महिला तर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । डायमन्डले २५-१७, २५-१२, २५-१२ को जित निकालेको हो । डायमन्डको ६ अंक भएको छ । यसअघि डायमन्डले गण्डकीलाई पराजित गर्दै ३ अंक जोडेको थियो । अंक तालिकामा डायमन्ड दोस्राे स्थानमा रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपाल क्लबले दोस्राे जित आत्मसाथ गरेको छ । आज सम्पन्न खेलमा हेल्प नेपालले दावाँली मिलन क्लबलाई ३-० सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१७ ले जितेको हेल्प नेपालले दोस्राे सेट २५-२२ र तेश्रो सेट २५-२१ ले जित्दै थप ३ अंक आफ्नो खातामा लेखाएको हो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । हेल्प नेपालले यस अघि सैलुङ्ग बाघढुङ्गालाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

पुरुषतर्फकै अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० ले पराजित गर्यो । संघर्षपूर्ण खेलमा आर्मीले ३ भारतीय खेलाडी सम्मिलित टोली गण्डकीलाई २५-१९, २६-२४, ३३-३१ ले पराजित गरेको हो । यस जितका साथ आर्मीको ९ अंक भएको छ । यस अघि आर्मीले दावाँली मिलन क्लब र सैलुङ्ग बाघढुङ्गलाई जितेको थियो ।

प्रतिक्रिया