

गणतन्त्रले देशलाई ठीक बाटोमा डोर्याउन सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठीक बाटोमा नजाने बताएका छन्।
शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठीक बाटोमा डोर्याउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरू देखिन लागेकाले समयमा नै सजक हुनुपर्ने धारणा राखे।
भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो कि भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि राप्रपा अघि बढेको बताए।
लिङ्देनले मुलुकमा संघीयता आए पनि पूरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सिर्जना गर्न सके राप्रपाको एजेण्डा पूरा हुनसक्ने तर्क गरे। अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायीत्वको कल्पना गर्न नसकिने जिकिर गरे।

