बैंकबाट ऋण लिएर तिर्दिन भन्न पाइँदैन : गृहमन्त्री


काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैंकविरुद्धका अराजक गतिविधि रोक्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री श्रेष्ठले शुक्रबार साँझ हातिवनस्थित निजी निवासमा सबै बैंकका सीईओहरुलाई रात्रिभोजमा निम्तो गरेका थिए ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतीका विषयमा अनौपचारिकरुपमा जानकारी लिने र सरकार छ है भनेर ढाडस दिने उदेश्यले बैंकरहरुलाई रात्रिभोजमा बोलाइएको थियो । ऋणीहरुले असूलीमा गएका बैंकका कर्मचारीलाई धम्क्याउने, आक्रामण गर्ने जस्ता घटना बढेपछि गृहमन्त्रीले सीईओहरुसँग डिनर मिटिङको आयोजना गरेका हुन् ।

छलफलमा गृहमन्त्री श्रेष्ठले ‘तपाईंहरु अर्थतन्त्रको विज्ञ हुनुहुन्छ, अहिलेको देशको आर्थिक अवस्थालाई कसरी हेर्नुभएको छ रु समस्याहरु के के हुन् ? संभाावनाहरु के कस्ता छन् ? के कस्ता अफ्ठाराहरु भोगिरहनु भएको छ ? सरकारले कसरी सहजीकरण गर्न सक्छ ?’ जस्ता प्रश्न सोधेका थिए ।

बैंकरका तर्फबाट नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबि बैंकका सीईओ सुनिल केसीले ब्रिफिङ गरेका थिए । केसीले देशको अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदानबारे विशेष चर्चा गरे । बैंकिङ क्षेत्रले राज्यलाई तिर्ने कर, सिर्जना गरेको रोजगारी र वित्तीय मध्यस्थतामार्फत योगदान अतुलनीय रहेको ब्रिफिङ गरेका थिए ।

त्यस्तै, कृषि क्षेत्रका बारेमा कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङले ब्रिफिङ गरेका थिए । अन्य केही सीईओहरुले बैदेशिक व्यापार, भुक्तानी सन्तुलन लगायतका विषयमा पनि कुरा गरेका थिए । समग्रमा सीईओहरुले देशको अर्थतन्त्र बलियो बनाउन र व्यापारघाटा कम गर्न कृषि, ऊर्जा र पर्यटनमा जोड दिनुपर्ने बताएका थिए ।

पछिल्लो सयम बैंकको ऋण लिएर तिर्दिन प्रवृत्ति मौलाएको भन्दै सीईओहरुले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए । गृहमन्त्री श्रेष्ठले बैंकबाट ऋण लिएर तिर्दिन भन्न नपाइने भन्दै बैंकविरुद्धका अराजक गतिविधि रोक्न र बैंकरलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

‘यो सरकार कुनै पनि प्रकारका दण्डहीनता रोक्न लागि परेको छ, बैंकविरुद्ध अराजक गतिविधि गर्नेहरु कानूनी दायरामा आउँछन्, तपाईंहरु निर्धक्क भएर काम गर्नुहोस्,’ गृहमन्त्री श्रेष्ठको भनाइ उदृत गर्दै छलफलमा सहभागी एक बैंकरले भने, ‘पछिल्ललो समय सरकार जुन दृढताका साथ भ्रष्टाचारविरुद्ध उभिएको छ, यसबाट पनि हाम्रो काम गराई प्रष्ट हुन्छ ।’

सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य शहनशीलताको नीतिका साथ अघि बढेको गृहमन्त्री श्रेष्ठले पटकपटक दोहोर्‍याएका थिए । मन्त्री श्रेष्ठले ललिता निवास प्रकरणबारे केही समय बोलेका थिए । ‘सरकारी जग्गा किर्ते गरी खानेलाई हामी छाड्दैनौं, हामी जस्तोसुकै दबाब झेल्न तयार छौं,’ उनले भने, ‘मैले प्रहरीलाई स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्नुस्, दोषी नउम्किउन र निर्दोष नफसुन् भनेर प्रष्ट निर्देशन दिएको छु ।’

छलफलमा सहभागी अर्का बैंकरका अनुसार बैंक विरुद्धका अराजक गतिविधिले हतोत्साही भएका बैंकरहरुलाई ऊर्जा दिलाउने उदेश्यले गृहमन्त्रीज्यूले रात्रिभोजको आयोजना गरेको हो । बैंकरहरुले गृहमन्त्रीसँग राष्ट्र बैंकको मौद्रिक नीतिबारे पनि कुरा गरेका थिए । शुक्रबार साँझ साढे ७ बजेदेखि सुरु भएको रात्रिभोज साढे ११ बजेसम्म चलेको थियो । रात्रिभोजमा अधिकांश वाणिज्य बैंकका सीईओहरु उपस्थित थिए ।

प्रतिक्रिया