
घोषणा भएको १८ दिनपछि समाजवादी मोर्चाले बोलायो पहिलो बैठक
काठमाडौं – चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक बोलाइएको छ । मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो ।
समाजवादी मोर्चा घोषणा गरिसकेपछि यसका शीर्ष नेताहरुबीच पनि छलफल भएको थिएन। मोर्चा घोषणालगत्तै माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि नेकपामै फर्किनु पर्ने भन्दै कम्युनिष्ट एकताको कुरा झिकेका थिए।
यही सोमबार प्रधानमन्त्री पदलाई भारतसँग जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुबाट प्रचण्ड घेरिएका छन्। एमालेले उनको राजीनामा नै मागेको छ। यही विवादका कारण शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी दुई दिनलाई स्थगित भएको छ।
अर्कातिर राष्ट्रियसभाको बैठक पनि केही बेर बसेपछि एमालेको अवरोधका कारण स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षीको घेराबन्दीमा परिरहेको सन्दर्भमा नयाँ रणनीति निर्माण तथा समाजवादी मोर्चाको सम्भावित योजनालाई लिएर पहिलो बैठक बस्न लागेको हो।



कागजपत्र |
