


क्यान महाप्रबन्धक अधिकारीलाई अर्को स्पष्टीकरण
३ दिनभित्र जवाफ माग गर्दै मन्त्री किराँतीले सोधे दोस्रो पटक स्पष्टीकरण

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ३ दिने स्पष्टीकरण सोधेका छन् । यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका हुन् ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडान लिँदै आएका छन् ।
जवाफ नदिएपछि रुष्ट बनेका मन्त्री किराती अधिकारीमाथि कारबाही अघि बढाउने मुडमा पुगेका छन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी छ । मन्त्री किरातीले अधिकारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफपछि मन्त्री किराँतीले अधिकारीलाई पुनः स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ ।

