विराटनगर विमानस्थलको फोहोर नउठाउने महानगरको निर्णय


काठमाडौँ – विराटनगर महानगरपालिकाले विराटनगर विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको छ । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले महानगरपालिकालाई कर नतिरेपछि बुधबारदेखि फोहोर नउठाउने निर्णय गरेको हो ।

विमानस्थलले स्थापना कालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको छैन । विराटनगर महानगरपालिकाले विमानस्थल प्रशासनलाई पटक(पटक सम्पत्ति कर, बहाल कर बुझाउन र निर्माणधीन टर्मिनल भवनको नक्सा पास गर्न पत्रचार गरेको थियो । विमानस्थल प्रशासनले कर नतिरेपछि फोहोर नउठाउने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।

विराटनगर विमानस्थल प्रशासनले टर्मिनल भवन भित्र(बाहिर पसल र होटललाई भाडामा संरचना प्रयोग गर्न दिएको छ । टर्मिनल भवन भित्र विमान कम्पनीका काउन्टर पनि छन् । त्यस बाहेक नोबेल मेडिकल कलेज अगाडिको विमानस्थलको जग्गामा सटर निर्माण गरेर भाडामा पनि लगाएको छ । ती संरचना भाडामा लगाए बापत भएको आम्दानीबाट बहाल कर विमानस्थल प्रशासनले नतिरेको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

उनका अनुसार विमानस्थल प्रशासनलाई पटक पटक लिखित आग्रह गर्दा कर तिर्न अटेर गरेको हो । विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको नक्सा पनि पास नगरको उनले बताए । विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्गमिटरको टर्मिनल भवन निर्माणधीन छ । यो टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो हो । गौतमका अनुसार विमानस्थलको सम्पत्ति मूल्याङ्कन पनि भएको छैन । सम्पत्ति मूल्याङ्कन भएपछि तिर्नुपर्ने करको विवरण खुल्छ ।

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब ६४ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । तर चालु आर्थिक वर्ष २०७९(८० को ११ महिनामा ९जेठ मसान्त० ५१ करोड ६५ लाख ९४ हजार ९ सय रुपैयाँ मात्रै आम्दानी भएको छ । गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो ।

प्रतिक्रिया