जनवरीमा मात्रै १० लाखको रोजगारी गुम्यो


दक्षिण कोरिया – दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या ९ लाख ८२ हजार पुगेको छ। एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्ष यताकै सबैभन्दा उच्च हो।

यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ। यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कटपछिको पहिलो हो।

कोभिड-१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन्। त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जन स्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन्।

कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको सङ्ख्या २५.८ मिलियन छ। हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्या आठ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएका छन्।

त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ। जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्ष रूपमा असर पर्ने बताउँछन्।

कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार छ हजार ५०० बढी छन्। नयाँ श्रम सम्झौता र इपीएसको परीक्षासमेत हुन सकेको छैन।

प्रतिक्रिया