

हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : अर्थमन्त्री महत

लेखनाथ – अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।”
लामो इतिहास बोकेर आएको पार्टीका भएकाले उहाँले कार्यकर्तालाई विचलित नभइ सङ्गठित रुपमा अगाडि बढ्न सुझाव दिए । नेपालमा कांग्रेसले जति अरु कुनै पनि पार्टीले काम नगरेको उहाँको दाबी थियो । आफूले गरेका कामको प्रचारप्रसार गर्न नजानेकै कारण कांग्रेस पछि परेको भन्दै उनले नयाँ पार्टीले सानो काम गरे पनि सामाजिक सञ्जालबाट ठूलो बनाएर प्रचारप्रसार गर्ने गरेको आरोप समेत लगाए ।
कानूनी शासनमा विश्वास गर्ने पार्टी भएकाले नेपाली कांग्रेसप्रति आमजनताको विश्वास र भरोसा सधैँ आएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता एक ढिक्का हुन आग्रह गरे ।
“निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो, कार्यकर्ताले पनि कांग्रेसले नै सरकारको नेतृत्व गर्नुप¥यो भन्ने सुझाव दिने गरेका छन्”, उनले भने, “कांग्रेस एक्लैले बहुमत पु¥याउन नक्दा माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्न दिनु परेको हो ।” उहाँले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दललाई बहुमत ल्याउन कठिन हुने समेत बताए ।
उनले मुलुकमा आर्थिक उन्नती तथा समृद्धिका लागि जनता केन्द्रित कार्यक्रम आवश्यक रहेको बताए । जनता केन्द्रित कार्यक्रम नल्याएसम्म देशले विकासमा फड्को मान नसक्ने भन्दै उहाँले सोहीअनुसारको कार्यक्रम ल्याइएको बताए ।
“सीमित स्रोत र साधानले धेरै काम गर्नुपर्ने अवस्था छ, चालु आर्थिक वर्षमा राजस्व सङ्कलन कम भएकाले केही विकास निर्माणका काम यसवर्ष कटौती भएका छन्”, उनले भने । सो अवसरमा मन्त्री महतले अर्थतन्त्रलाई चलायमान बनाउँदै लगेको र आफूले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको समेत भनाइ राखे ।

