कोशी प्रदेशका सामाजिक विकासमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा


विराटनगर – कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ ।

राजभण्डारीले केही दिन अगाडि आयोजित एक कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको अभिव्यक्ति दिएका थिए । अभिवक्ता उद्धबचन्द्र घिमिरेले राजभण्डारीले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलङ्कको संज्ञासमेत दिएका थिए ।

मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनाको बनेको जाहेरीमा उल्लेख छ ।

न्यायाधीशको नाम किटान गरी संविधान र कानुनको उल्लङ्घन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि द्वेष र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदनमा गरिएको छ । निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ ।

प्रतिक्रिया