

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

कास्की – पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।
शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए ।
घटना लगत्तै अस्थायी प्रहरी पोस्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो । उनलाई अस्पतालले आज बिहान २:२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

