

वर्षा सुरु भएसँगै बैतडीका किसान खुसी

बैतडी – लामो समयपछि वर्षा सुरु भएसँगै बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।
रोपाइँका लागि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान प्रेमसिंह धामीले बताए । यसअघि असार पहिलो सातासम्म पनि रोपाइँका लागि वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए । उनले भने, ‘वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत भएको छ । रोपाइँ पनि सुरु भएको छ ।’
यसअघि वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका बर्खेबाली सुक्ने अवस्थामा पुगेका र वर्षाले राहत भएको मेलौली नगरपालिका–२ सलेनाकी हसांदेवी चन्दले बताए । उनले भने, ‘वर्षा नहुँदा सुक्न लागेका बालीनालीलाई पनि राहत भयो, रोपाइँ गर्न पनि सहज भएको छ ।’
वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँ गर्न चटारो परेको छ । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएकामा असार मसान्तसम्म समाप्त हुने किसानले बताएका छन् ।
जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा वर्षापछि हाल भइरहेको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।

