रवि लामिछाने भन्छन् – ८४ मा पहिलो पार्टी बन्न रास्वपालाई कसैले रोक्न सक्दैन


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्। यदि कमजोर भएपनि रास्वपा आफ्नै कारणले मात्र पराजित हुने भन्दै अरुले हराउन नसक्ने दाबी गरे ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा भने, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिईरहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।’

सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए।

‘म त पहिल्यै देखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन। जनता त त्यस्तो मानिस खोजिरहेका छन जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस्,’ लामिछानेले भने, ‘त्यस अर्थमा अहिले जति पनि साथीहरुले जिम्मेवारी लिइरहनु भएको छ। मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि।’

लडे आफ्नै गोडामा अल्झिएर लडने हो भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरुबीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।

‘मैले बारम्बार भन्ने गरेको छु साथीहरुलाई लेखेर पनि राख्नुस् है ठूलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं । अरुले हामीलाई लडाउने तागतनै राख्दैन’ लामिछानेले भने, ‘म यति भन्न चाहन्छु । प्रयास त हुन्छन, भइरहेका छन् । अहिले देख्नु भएको छैन संगठित रुपमा हामीलाई लडाउने प्रयास भइरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरुको फोटो राख्दै ।’

लामिछानेले सामाजिक सञ्जालमा गाली गलौजमा नउत्रिन पार्टीका कार्यकर्तालाई आग्रह गरे । ‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन् । असाध्यै धेरै गालीगलौज गर्छन् भनेर आरोप लागेको छ । अब त्यो आरोप खपेर बस्न मिल्दैन’ उनले भने ।

नेताहरु इमानमा रहेका दिनसम्म मात्र कार्यकर्ताले बचाउने भन्दै उनले नेताहरुले इमान छाडेको दिन कार्यकर्ताले बचाउनतिर लाग्न नहुने पनि बताए ।

‘म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनुपर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाइदिनुभयो भने अहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन्, पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन् ? आलोचना त गर्छन, सुन्छन । तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ’, लामिछानेले भने ।

प्रतिक्रिया