भैरहवाका ‘मीटरब्याजी’को घर विप्लव कार्यकर्ताको कब्जामा


भैरहवा – विप्लब निकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जामा लिएको छ । उनी ‘मिटरब्याजी’ उनीहरुको दाबी छ ।

मीटरब्याज पीडितहरुको आग्रहमा स्थानीयको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको बताइएको छ । बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानलाई न्यूनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक, दृष्टिबन्धक गरेर किसानका करोडौं ठगेको माओवादीका कार्यकर्ताहरुले दाबी गरेका छन् ।

उनले ७६ जना किसानलाई ५० प्रतिशत बढीको ब्याजमा ऋण लगानी गरेको विवरणमा उल्लेख छ । सिद्धार्थनगर,लुम्बिनी सांस्कृतिक र तिलोत्तमा नगरपालिका आसपासका दर्जनौं किसान तथा साना व्यापारीबाट ऋणको नाममा करोडौं असुलेको उनीहरुको आरोप छ ।

बानियाले नक्कली कागजको आधारमा ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज असुलेका हुन् । तोकिएको मितिमा ऋण नबुझाएका ऋणीलाई अर्को कागज बनाएर थप २५ देखि ५० प्रतिशत साँवा रकम बढाइएको पाइएको छ । अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएपछि धेरैले घर छाडेर आफन्तको शरण लिएको नेकपा विप्लवको दाबी छ ।

एकजना ऋणीले बानियाँ सँगको ऋण लिनदेनका कारण मृत्युसमेत रोज्न खोजेको पारिवारिक स्रोतले बताएको छ । बानियाँको ठगी धन्दाबारे ६२ जनाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन् ।२०७४ सालबाट पटकपटक उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि पीडितहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी गरेका हुन् । पीडित ऋणी र स्थानीयसहितको उपस्थितिमा नेकपाले आज सिद्धार्थनगरको मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिएको जानकारी दिएको छ ।

प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जापछि विरोधसभा समेत गरेको छ । सभालाई नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज सरद सी, जिल्ला सेक्रेटरी वीरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायत नेताहरूले सम्बोधन गरेका छन् ।

प्रतिक्रिया