


ग्रीस डुंगा दुर्घटनामा २८० भन्दा बढी पाकिस्तानी परेको आशंका

इस्लामावाद – गत साता ग्रीसमा आप्रवासीको डुंगा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशंका व्यक्त गरेका छन्।
गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेको उक्त डुंगा आयोनियन सागरमा डुबेको थियो।
डुंगा डुब्दा सयौं मानिस डुंगामा थिए भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ।
घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो। प्रत्यक्षदर्शीहरूको विवरणअनुसार डुंगासँगै सयौं मानिस पानीमा डुबेका थिए र उनीहरूको अवशेष अझै समुद्रमा हराइरहेको छ।
पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूको सबालको जवाफ दिँदै भने, ‘अहिलेसम्म २८१ पाकिस्तानी परिवारले हामीसँग सम्पर्क गरेका छन् र आफ्ना बच्चाहरु यस दुर्घटनाको शिकार भएको हुन सक्ने बताएका छन्।’
सनउल्लाहका अनुसार डुंगा दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकलाई सकुशल उद्धार गरिएको थियो। ‘सम्भवतः यसअघि कुनै पनि घटनामा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थिएन,’ उनले भने।

