

तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने न्यायपरिषदको तयारी

काठमाडौँ – न्यायपरिषदले तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । लामो समय कामु रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्तसँगै प्रक्रिया अघि बढाइने भएको हो ।
नियुक्तिबारे छलफल गर्न केही दिनमै परिषद्को बैठक बोलाउने तयारी छ। सुरुमा उच्च अदालतको न्यायाधीशबाट नियुक्तिको प्रक्रिया थालिने जनाइएको छ ।
उच्च अदालतमा १६० जना न्यायाधीश हुने संवैधानिक व्यवस्था छ। गतवर्ष न्यायपरिषदले रोष्टर तयार गर्दा उच्च अदालतमा २७ जना न्यायाधीश रिक्त थिए। अहिले त्यो संख्या ४१ पुगिसकेको छ। उच्च अदालतमा ६ जना मुख्यन्यायाधीश समेत रिक्त छन्।
२८७ न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा ३७ पद रिक्त छन्, जिल्ला न्यायाधीश भने लोकसेवाको परीक्षा र ज्येष्ठताका आधारमा परिपूर्ति गरिन्छ। २१ न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १६ जना मात्र छन्। २ साउनमा न्यायाधीश टङ्क मोक्तानले अवकाश पाएपछि रिक्त न्यायाधीशको संख्या ६ पुग्नेछ।

