इटहरीमा फेरि चल्यो डोजर


विराटनगर – इटहरी उपमहानगरपालिकाले सडक विस्तारमा पर्ने अवैध संरचना भत्काउन सुरु गरेको छ । ६ लेन सडक क्षेत्रमा पर्ने घर भत्काउन आलटाल गरेपछि  उपमहानगरले डोजर चलाएको हो ।

इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो ।

रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले शुक्रबार बिहान दोस्रो पटक डोजर चलाएको हो । यसअघि उपमहानगरले गत माघ महिनामा विराटनगर लाइनमा पर्ने वडा नम्बर ६ का ३४ वटा घर भत्काएको थियो ।

वडा नम्बर ९ का एक दर्जनबढी घर भत्काएपनि केही घरधनीले अटेर गर्दै आएका थिए । पटक-पटक आग्रह गर्दा पनि ९ नम्बर वार्डका केही घरधनीले घर नभत्काएपछि बल प्रयोग गरेर भत्काउन सुरु गरिएको मेयर पौडेलले बताए ।

पौडेलले सडक क्षेत्रभित्रका संरचना निरन्तर भत्काउँदै जाने बताए । विकासको काममा विरोध नगरौं भनेर सबै घरवालालाई सम्झाए पनि केहीले समय मागेर पनि अटेर गरेपछि डोजर चलाएको बताए ।

प्रतिक्रिया