

बिजुक्छेँद्वारा परम्परागत घर निर्माण गर्नेलाई ६४ लाख ७२ हजार अनुदान वितरण

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गरेका स्थानीयवासीलाई रु ६४ लाख ७२ हजार अनुदान वितरण गरेका छन् ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आफ्ना नगर क्षेत्रभित्र मापदण्डअनुसार परम्परागत शैलीमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका स्थानीयवासीलाई ३५ प्रतिशत अनुदान रकम प्रदान गरेको हो ।
नगरपालिका क्षेत्रभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने स्थानीयवासीले खरिद गर्ने डाँची अप्पा, माः अप्पालगायतका इँटा, काठका कलात्मक झ्याल, ढोकालगायतका विभिन्न सामग्री खरिदमा लागेको कूल रकमको ३५ प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अध्यक्ष बिजुक्छेँले प्रतिव्यक्ति रु ७५ हजारदेखि आठ लाख ४६ हजारसम्म रकम प्रदान गरेका हुन् ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका क्षेत्रमा सम्पदाहरू आफैमा जीवित रहेको चर्चा गर्दै यसको संरक्षणमा नगरपालिका आफैँ लाग्नुपर्ने बताए ।

