प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी गरिने


काठमाडाैं – नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी शुरू गरिने भएको छ ।

प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी ६०० भन्दा बढी राख्ने तयारी भएको व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए ।

प्रदर्शनीमा प्रज्ञाले २०३० देखि २०८० जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिनेछ । ३ देखि ३ हजार ३३५ सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिने जनाइएको छ ।

प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन लगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी पुस्तक एवं पत्रपत्रिका समावेश गरिनेछ ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोश लगायतको बिक्रीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रतिष्ठानबाट प्रकाशन शुरू भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिनेछ ।

माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता ३ देखि प्रज्ञा नेपाली बृहत् शब्दकोशको ३ हजार ३३५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । यसअघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरू बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा ३ पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीका अवसर पारेर पुस महिनामा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रतिक्रिया