करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु


काठमाडौं – कपिलवस्तु, कृष्णनगर नगरपालिका–४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर बिजयनगर गाउँपालिका–५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन धुनियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

करेन्ट लागेर सामान्य घाइते भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा खेलिरहेको अवस्थामा मोटरमा प्रयोग गरिएको नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगजंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

यस्तै, दाङ, राजपुर गाउँपालिका–७ राटाकास बस्ने भक्त बहादुर विकको छोरा १३ वर्षीय तामुयल विकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोटरको पानीले नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया