

प्राज्ञिक परिषद्कै निर्देशन आलटाल गर्दै डिन डा. प्रसाई, समयमै परिक्षा नगर्दा हजाराैं विद्यार्थी अन्योलमा
सामाजिक शास्त्र तथा शिक्षा संकायमा डिन डा. खगेन्द्र प्रसाईको नियुक्ति प्रक्रियामै विवाद देखिएकोले अख्तियारले थाल्यो छानबिन

काठमाडौं – नेपाल खुला विश्वविद्यालयअन्तर्गतको सामाजिक शास्त्र तथा शिक्षा संकायमा बेथिति बढ्दै गएको छ । ‘डीन उम्मेदवार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि–२०७९’ विपरित नियुक्त भएका डा. खगेन्द प्रसाईंले उपकुलपति तथा प्राज्ञिक परिषद्कै निर्णयलाई पनि अटेरी गर्दै लामोसमयसम्म पनि परिक्षा सञ्चालनसम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाई विद्यार्थीको भविष्यमाथि खेलवाड गरेका छन् ।
डिन नियुक्ति भइसकेपछि संकायले गर्नुपर्ने परिक्षा, नतिजा लगायतका नियमित कार्यहरु केही पनि गरेका छैनन् । त्यस संकायमा सेमेस्टर प्रणालीमा पढाई सञ्चालन हुने भए पनि कक्षा सकिएको ३ महिनासम्म पनि परिक्षा तालिका प्रकाशित गरिएको छैन । सेमेस्टर प्रणालीमा ६ महिनाभित्र परिक्षा गर्नुपर्ने नियम रहेकोमा तालिका समेत प्रकाशित नगरिनुले आफूहरुको शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यार्थीहरुले जनाएका छन् ।
त्यस सम्बन्धमा डिन प्रसाईंसँग गुनासो राख्दा उनले कुनै चासो पनि नदिने र समस्याका समाधानका लागि कुनै पहल समेत नगरेको पीडित विद्यार्थीहरुले बताए । पटक–पटक परिक्षा र परिक्षा ढाँचाका बारेमा विद्यार्थीहरुले डिन कार्यालयसँग जानकारी माग्दा त्यसको सुनुवाई नभएपछि उपकुलपति कार्यालयमासमेत समयमा परिक्षा गराउनुपर्ने माग गर्दै मौखिक र परिक्षा ढाँचाका सम्बन्धमा लिखित निवेदन दिएका छन् ।
त्यस सम्बन्धमा उपकुलपति तथा प्राज्ञिक परिषद्को बैठकबाट निर्णय गरि तत्कालका लागि यसअघिकै विधिबाट परिक्षा सञ्चालन गर्न डिनलाई लिखित निर्देशन दिए पनि डिन प्रसाईंले आलटाल गर्दै परिक्षा प्रक्रिया अगाडि बढाएका छैनन् ।
विश्वविद्यालय अध्ययनको चाह भएका तर नियमित रुपमा विश्वविद्यालयमा हाजिर भएर अध्ययन गर्न असमर्थ विद्यार्थीहरुका लागि ल्याइएको खुला विश्वविद्यालयको अवधारणालाई नै लत्याएर डिन प्रसाईले समयमै परिक्षा तालिका, परिक्षाका साथै नतिजा प्रकाशनसम्बन्धी कुनै पनि काम नगरेकोले विद्यार्थीहरुले अनावश्यक रुपमा मानसिक दबाब भोग्नुपरेको बताएका छन् । ‘पढाई समयमै सकिएला भनेको डिन कार्यालयले परिक्षा नै गर्ने सुर गर्दैन, एक जनाको गलत कार्यको नतिजा तमाम् विद्यार्थीहरुले भोग्नुपर्ने भयो,’ नाम नखुलाउने शर्तमा एक विद्यार्थी भन्छन् ।
अख्तियारले थाल्यो छानबिन
डिन नियुक्ति प्रक्रिया नै अवैधानिक भएको भन्दै डिन डा. प्रसाईको नियुक्ति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
खुला विश्वविद्यालयको ‘डिन हुनका लागि विश्वविद्यालय तथा उच्च शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको पूर्णकालिन प्राध्यापन अनुभव रहनुपर्ने’ कार्यविधि रहे पनि प्रसाईं लामो समयदेखि अमेरिकामा पिएचडी अध्ययनका लागि रहेको र नेपालमा आंशिक र भिजिटिङ शिक्षकको रुपमा मात्र काम गरेको पाइएकोले निजले डिनका लागि आवेदन दिँदा उपलब्ध गराएको अनुभवको प्रमाणपत्रको आधिकारिकताको प्रश्न समेत उठेको छ ।
त्यससम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० वैशाख २९ गते उपकुलपति कार्यालयलाई छानबिन तथा कारबाहीका लागि लिखित निर्देशन समेत दिइसकेको छ ।

