

सरकारले बैंक ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

काठमाडौं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन्। मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री गम्भिर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दावी गरे।
‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौं। तर, कर्जा प्रवाह कम भइरहेको छ । यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन । र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौं । यसमा माननीय अर्थमन्त्रीज्यू तपाई सिरिएस हुनुस् । यदि तपाईले बैंक ब्याजदर घटाउन सक्नु भएन भने नेपालको फाईनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न । त्यसैले बैंक ब्याजदर घटाउनुस्,’ चौधरीले भने।
उनले युवाहरुलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए।

