गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै


गुल्मी – गुल्मीका बाह्रै वटा पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्तर्गत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो ।

अनुगमन समितिले जिल्लाको चन्द्रकोट गाउँपालिकाअन्र्तगत वडा नम्बर २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको ८, छत्रकोटको १ र २, रुरुक्षेत्रको ४, गुल्मीदरबार गाउँपालिकाको वडा नं १ र रेसुङ्गा नगरपालिकाको वडा नम्बर १४ सहित ११ वटा वडामा सुन्तला जात फलफूलका लागि क्षेत्र विस्तार गरिने भएको हो ।

कफी सुपर जोनका लागि कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ३ र ४ र चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ६ गरी ३ वटा वडामा कफीको क्षेत्र विस्तार गर्न लागिएको हो । अनुगमन समितिले बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिकाको वडा नम्बर ५ र ८, मदानेको ४ र ७, इस्माको १ र ३ तथा धुर्कोटको ४ र ५ वडामा बाख्राका लागि क्षेत्र विस्तार गर्ने जनाएको छ ।

मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिकाको २, ३ र ४, चन्द्रकोटको ४, छत्रकोटको ३ र ५ एवं गुल्मीदरबारको वडा नम्बर ३ र ४ लाई मकैको क्षेत्र विस्तारमा राखिएको छ ।

जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन एकाइ खुमलटारमा क्षेत्र विस्तारका लागि सिफारिस गरिएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोखरेलले बताइन् ।

समितिले गरेको क्षेत्र विस्तारका लागि छनोटका अधारहरूमा सम्बन्धित स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्तिहरूलगायतका मापदण्डहरू बनाइएकोे जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।

परियोजनाद्वारा विगत वर्षमा जिल्लाको बाह्र स्थानीय तहमध्ये मकै जोनमा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ गरी ९४ वटा वडामा कार्यक्रम सञ्चालन हुँदै आएको थियो । क्षेत्र विस्तारका लागि सिफारिस समितिको बैठकमा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया