

अमेरिकी विदेशमन्त्री ब्लिंकनले भेटे चिनियाँ राष्ट्रपति चिनफिङ

काठमाडौं – चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। राजधानी बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच भेटवार्ता भएको छ।
विश्वका दुई ठूला अर्थतन्त्रबीचको गम्भीर तनावपूर्ण सम्बन्धका कारण उच्चस्तरीय भेटवार्ता हुन सकेको थिएन। यद्यपि ब्लिंकनको भ्रमणले चीन र अमेरिकाबीचको उच्चस्तरको संवादहिनता टुटेको छ।
पछिल्लो पाँच वर्षमा चीन भ्रमण गर्ने अमेरिकाका पहिलो वरिष्ठ अधिकारी पनि ब्लिंकन बनेका छन्। उनी भ्रमणमा निस्किँदा राष्ट्रपति चिनफिङसँगको भेट तय गरिएको थिएन।
ब्लिंकनले यसअघि चीनका शिर्ष नेतामध्य एक वाङ यी र विदेशमन्त्री चिन गागसँग भेटवार्ता गरिसकेका छन्। वाङ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यका साथै विदेश मामला आयोग प्रमुख हुन्।
अमेरिकी विदेशमन्त्री ब्लिंकनको यो भ्रमणले अमेरिका र चीनबीच रहेको असमझदारी हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

