

पहिरो र बाढीको जोखिम बढ्यो : सचेत रहन स्थानीय तहको आग्रह

धनकुटा – पछिल्लो केही दिन यताको भारी वर्षाका कारण पहिरो तथा बाढीको जोखिम बढेको भन्दै जिल्लाका स्थानीय तहले स्थानीय बासिन्दालाई सचेत रहन सार्वजनिक अपिल गरेका छन्। तमोर र अरुण नदीसहित जिल्लाका स-साना खोलाहरूमा पानीको बहाव बढेको भन्दै किनारका बस्तीमा बसोवास गर्ने स्थानीयलाई सचेत रहन आग्रह गरेका हुन्।
अहिलेसम्म बाढी तथा पहिरोले धनकुटामा कुनै क्षति नभए तापनि पानीको बहाव नघटेकाले ती क्षेत्रहरूमा जोखिम कायमै रहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सचेत रहन स्थानीयलाई अपिल गरेको छ।
नदीमा जनुसुकै बेला पानीको सतह बढ्न सक्ने भएकाले माछा मार्ने लगायतको कार्य नगर्न नगरी सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरिएको उनले बताए। त्यस्तै महालक्ष्मी नगरपालिकाले पनि सूचना जारी गर्दै अझै केही दिन भारी वर्षा हुन सक्ने भएकाले अरुण नदी तथा आसपासका खोला किनार जोखिम पूर्ण क्षेत्र बसोवास गर्ने तथा नदी किनारमा बसी जीविकोपार्जन गर्ने व्यक्तिलाई केही दिन त्यस्तो स्थानमा नबस्न आग्रह गरेको छ।
अरुण नदीमा बाढी आउन सक्ने भएकाले नदी किनारका बासिन्दालाई सचेत गराइएको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले बताए। बिहान आएको बाढी केही घटेपछि आज दिउँसो तमोर नदी किनारमा माछा मार्नेको भीड बढेको थियो। जिल्लाका अन्य स्थानीय तहले पनि स्थानीयलाई सचेत गराएका छन्।

