पत्रकार महासंघलाई प्रेस चौतारीको ४८ घण्टे अल्टिमेटम


रामेछाप – नेपाल पत्रकार महासंघ रामेछापले सदस्यता शुद्धीकरणमा मापदण्ड मिचेको भन्दै जिल्लास्थित नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ ।

आज विज्ञप्ति जारी गर्दै प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले ४८ घण्टाभित्र निर्णय नसच्चिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । महासंघले जारी गरेको १५ बुदें सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड स्वागतयोग्य रहेपनि रामेछापको हकमा अमूक दल विशेषका कार्यकर्ता भर्ति केन्द्रको रुपमा महासंघलाई स्थापित गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी वर्तमान नेतृत्वले सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९ को ठाडो उपहास गरी प्रतिशोध र पूर्वाग्राही ढंगबाट सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने गरी सदस्यता सिफारिस गरेको चौतारीको आरोप छ ।

‘कुनै दल विशेष पार्टीको कार्यकर्ता भर्ति केन्द्रको रुपमा स्थापित गर्ने गरी प्रेस चौतारीमा आबद्ध योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यताबाट वञ्चित गर्ने गरी नेपाल पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी र मतियार वर्तमान नेतृत्वले सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९ को बुँदानं. ८, ९, १०, १३ र १४ को ठाडो अपहास गरी प्रतिशोध र प्रर्वाग्राही ढंगबाट महासंघमा हाल कायम रहेको सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने गरी भएको निर्णय र सदस्यता सिफारिसको निर्णय सच्याउन पुनः आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

अन्थया, पत्रकार महासंघको कार्यालयमा तालाबन्दी र कालो झण्डा राख्ने, मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासंघका प्रतिनिधि सहभागि हुने कार्यक्रम हस्तक्षेप र बहिष्कार गर्ने, निर्णय नसच्चिएसम्म पत्रकार महासंघका सबै गतिविधि ठप्प बनाउने र सरकारी सेवामा कार्यरत रहेरपनि महासंघमा सदस्यता कायम रहेकाले सेवाबाट राजीनामा दिएको छ वा छैन भनेर यकिन गर्न सूचना माग गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया