पूर्ण अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान


सुर्खेत – दैलेख भगवतीमाई गाउँपालिका-२ हाल वीरेन्द्रनगर नगरपालिका-११ का पिपिराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विहीवार पूर्णरुपमा शारीरिक अशक्त भएका बोहराको घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले शितला कार्यालयमा आउन नसक्ने हुँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको निर्देशन अनुसार घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए ।

उनले प्रशासनले शारीरिक पूर्ण अशक्त अपांगता भएकाहरुलाई उमेर पुगेपछि खोजी खोजी घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको जानकारी दिए । एक वर्षको अवधिमा तीन जना अशक्तहरुलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत थापाले बताए ।

शितला मस्तिष्क पक्षघातबाट अशक्त बनेका हुन । दुई वर्ष अघिसम्म घरमै उभिन सक्ने शितला आजकल उभिन नसकी बसिरहने गरेको आमा भगवती बोहराले बताइन् ।

राष्ट्रिय अपांग महासंघको सहजीकरणमा शितलालाई नागरिक प्रदान गरिएको हो । महासंघका जीतलाल ढकालका अनुसार शितलाले क श्रेणीको रातो अपांगता परिचयपत्र प्राप्त गरिएको छ ।

प्रतिक्रिया