कार्कीले प्रधानन्यायाधीशका रूपमा गर्न पाउने सेवा अवधि अहिलेसम्मकै छोटो हुने


काठमाडौँ – कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की २०८० असार १ गतेबाट नेपालको ३० औँ प्रधानन्यायाधीश बन्दैछन् ।

प्रधानन्यायाधीशका रूपमा सिफारिस भएका कार्कीको बिहीबार संसदीय सुनुवाइ भएपछि शुक्रबार सिफारिस अनुमोदन गर्ने तयारी गरिएको छ । त्यसो भएमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको ४० औँ दिनमा कार्की प्रधानन्यायाधीश बन्ने छन् ।

कार्कीले प्रधानन्यायाधीशका रूपमा गर्न पाउने सेवा अवधि भने अहिलेसम्मकै छोटो हुनेछ । कार्कीले प्रधानन्यायाधीशका रूपमा जम्मा ५० दिन सेवा गर्न पाउने देखिएको छ ।

शैक्षिक प्रमाणपत्रमा कार्कीको जन्म मिति २०१५ साउन २० गते उल्लेख रहेको कारण उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् । असारको १ गते प्रधानन्यायाधीशका रूपमा सिफारिस भई शपथ लिएमा उनले ५० दिन प्रधानन्यायाधीशका रूपमा काम गर्न पाउनेछन् ।

प्रधानन्यायाधीशका रूपमा ५० दिन पदमा रहने भए पनि कार्कीले प्रधानन्यायाधीशका रूपमा इजलासमा भने मात्रै २० दिन बिताउन पाउनेछन् । २० दिनमा पनि ३ दिन शनिबारको बिदा परेको कारण इजलासमा बस्न भने उनीसँग मात्रै १७ दिनको समय रहनेछ ।

अवकाशमा जाने समयभन्दा कम्तीमा एक महिना पहिलेदेखि न्यायाधीश वा प्रधानन्यायाधीशले मुद्दा नहेर्ने चलन रहेको कारण कार्कीले पनि असारको २० गतेपछि इजलासमा बसेर मुद्दाको पुर्पक्ष गर्ने छैनन् ।

प्रधानन्यायाधीशका रूपमा कार्की मात्रै ५० दिन पदमा रहने भए पनि कार्कीले गत वर्षको असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।

 

प्रतिक्रिया