

४५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं – नेपाल प्रहरीका ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयअनुसार प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जनालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुशोभित गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक समारोहबीच उनीहरूलाई महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् ।
पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताए ।
पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उनले निर्देशन दिएका थिए ।

