

एसीसी महिला इमर्जिङ कपः नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं – एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग पहिलो खेल खेल्दैछ। नेपालविरुद्ध पाकिस्तानको ए टिम मैदान उत्रने छ।
हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान पौने ७ बजेपछि खेल सुरु हुनेछ।
बलियो पाकिस्तानले नेपालविरुद्ध फातिमा साना नेतृत्वको टिम उतार्न लागेको हो। फातिमा पाकिस्तानकी प्रमुख बलर हुन्। पाकिस्तान प्रतियोगिताको उपाधि दाबेदार हो।
नेपालले पाकिस्तानसँग सुखद नतिजा निकाल्ने प्रयास गर्नेछ। थाइल्यान्डले भिसा प्रक्रियामा समस्या देखाउँदै सहभागिता फिर्ता लिएपछि नेपालले मौका पाएको हो।
नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङका टिम छन्। समूहबाट शीर्ष दुईमा पर्न सके नेपालले सेमिफाइनलमा स्थान बनाउने छ।
नेपालले दोस्रो खेल असार २ गते भारतको ए टिमसँग खेल्ने तालिका छ। असार पाँच गते अन्तिम खेलमा नेपालले घरेलु टिमसँग खेल्ने छ।

