प्यूठान दुर्घटना अपडेट: मृत्यु भएका आठमध्ये ७ जनाको सनाखत


काठमाडौं – स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेको कार दुर्घटना हुँदा प्यूठानमा ८ जना तिर्थयात्रीको मृत्यु भएको छ। उनीहरुको जिल्ला अस्पताल बिजुवार ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु सबै कारमा च्यापिएका थिए।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका -४ भिङ्रीकोटमा सोमबार दिउँसो दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २ महिला, २ पुरुष र चार जना बालबालिका रहेको प्रहरी नायब उपरीक्षक सुबास खड्काले बताए।

मृत्यु हुनेमा लमही नगरपालिका-५ का सवारी चालक तारा बहादुर कुमाल, लमही- ७ बस्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र ९ वर्षीय छोरा आदित्य शाह छन्।

यस्तै, दुर्घटनामा तुल्सीपुर उपमहानगरपालिका-१५ की ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र वर्ष ९ वर्षीय अर्का छोरा विकाश पोख्रेलको पनि मृत्यु भएको छ।

एक जना बालकको भने सनाखत भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक सुशिल थापाले आफन्तहरु आएपछि मात्रै मृतकहरुको भेरिफाई गर्ने बताए। कार दुर्घटना भएको स्थानमा घुम्टी र ठूलो भीर छ। कार सडकबाट ३५ मिटर तल खसेको छ।

प्रतिक्रिया