

फेवा सरसफाई अभियान : प्लास्टिकजन्य फोहोर निकालियो

पोखरा – फेवाताल पुरिने र प्रदूषण हुने क्रम बढ्दा जलारी समुदायको माछा मारेर जीवन निर्वाह गर्ने पेशा संकटमा पर्दै गएको जलारी समुदायले बताएका छन्।
फेवातालको मुहान क्षेत्रमा समेत जथाभावी फोहोर फ्याँक्ने क्रम बढेसँगै ताल प्रदूषणको चपेटामा पर्दै गएको हो। मुहान क्षेत्रमै प्रदूषण बढेपछि खपौदी क्षेत्रमा फ्याँकिएका प्लास्टिकजन्य फोहोर, बोतल लगायतका फोहोर शनिबार निकालिएको छ।
गर्मी छल्न तालको सिरानमा जाने युवायुवतीले ताल, तालको मुख्य स्रोत हर्पन खोला, तालको घोल, दलदलमा फ्याँकेका प्लास्टिकजन्य र मदिराजन्य सिसाका बोतल लगायतका फोहोर संकलन गरिएको हो।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा १८ खापौदी क्षेत्रको ताल सरसफाई गरिएको हो। सरसफाई अभियानमा नेपाल प्रहरी, मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थी, स्थानीय जलारी समुदाय, आमा समूह लगायतका उपस्थिति रहेको वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
सरसफाई अभियानका क्रममा ठूलो टिपरको आधा टिपर फोहोर संकलन गरिएको संयोजक पौडेलले जानकारी दिए। सरसफाई अभियान अन्तर्गत ताल, सिमसारको महत्वका बारेमा जनचेतना कार्यक्रम गरिएको थियो।
तालको अस्थित्वसँग जोडिएको सिमसार पुरेर घडेरी बनाउने क्रम बढ्दै जाँदा तालमा पानीको स्रोत समेत सुक्दै गएको स्थानीयले बताएका छन्।
तालको मुहान क्षेत्रमा समेत फोहोर बढेको भन्दै चिन्ता व्यक्त गरिएको थियो। अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत पोखराको फेवाताल वर्षा याममा जलाधार क्षेत्रमा जाने पहिरो हर्पन खोला हुँदै तालमा थुप्रिने क्रम बढेको छ।8
यसरी माटो थुप्रिँदा गत १० वर्षमा ६ सय रोपनी भन्दा बढी क्षेत्रफल परिएको फेवा हर्पन मत्यस सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर जलारी बताउँछन्। ताल पुरिएर बनेको जमिनमा अहिले स्थानीयले धान रोपेका छन्।
ताल पुरिनुको साथै मुहान क्षेत्रको हर्पन खोलामा प्रदूषण बढ्दै जाँदा स्थानीय जातका माछा लोप हुने अवस्थामा पुगेको पनि उनले बताए। फेवालमा पछिल्लो समय माछाको प्रजाति र संख्या घट्दै जाँदा पुस्तौ देखि माछा मारेर जीवन चलाउँदै आएका जलारी समुदाय आप्नो पेशाबाटै विस्थापित हुने अवस्था आएको उनले सुनाए।

