

अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संगीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन्।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पारे। उनले ज्यापु संस्कृतिको संरक्षणका लागि गरिएको मागहरु सम्बोधन गर्न पनि सरकार प्रतिवद्ध रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीहरुको एउटा प्रचलन नै के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धेरै हुने। भाषणले जे कार्यक्रमको महत्व हो, त्यसलाई नै कम गरिदिने गरेको छ। त्यसकारण अहिले म भाषण गर्दिन। संगीतको प्रवर्द्धनको लागि काम गर्नेछु। किनकी मैले पहिलो चोटी प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रलाई सरकारको तर्फबाट केही सहयोग गर्ने अवसर पाएको थिएँ। अहिले पनि तपाईंहरुलाई सहयोग हुने विश्वास दिलाउँछु।’
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले कार्यक्रमको महत्त्व नै काम हुने गरी भाषण नगर्ने भन्दै संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेवारी संस्कृति झल्काउने खालका बाजागाजासहितको सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो।

