

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख : सञ्चारमन्त्री शर्मा

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डिएम्एस्) कार्यान्वयनमा सरकार कडाईका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेकी छन्।
मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सँधै तत्पर रहेको बताइन्।
नेपाल मोबाइल व्यवसायी महासंघको दोश्रो साधारणसभालाई ललितपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘मोबाइल मनोरञ्जनको साधन नभई अत्यावश्यकीय साधन बनिसकेको छ, ०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको हातहातमा मोबाइल, घरघरमा इन्टरनेट अभियानलाई मूर्त रुप दिँदै वर्तमान सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छ।’
मन्त्री शर्माले मोबाइल आयातलाई भन्दा बिग्रेका मोबाइलाई पुनः प्रयोग गर्नसक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिन्।
उनले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनीकरण हुने भएकाले ति व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कूल बजेटको १ प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताइन्।
नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले बर्सेनि ४० अर्ब बढी राजश्व उठाउने र ५० हजारभन्दा बढी रोजगार प्रदान गरिरहेका मोबाइल व्यवसायीहरु यतिबेला संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए।
मोबाइल बिक्रीमा अत्यन्तै कम मार्जिन रहेको, अनलाइन तथा अफ्लाइनका नाममा अव्यवसायिक प्रतिस्पर्धा बढेको, मोबाइललाई विलाशिताको वस्तुका रुपमा हेरिएका कारण आयातमा कडाई भइरहेको अवस्थाले व्यसायी संकटमा पुगेको अध्यक्ष भट्ट्राईको तर्क छ।

